Rule 20
इजाजतपत्र रद्द गर्ने कार्यविधि तथा अन्य व्यवस्था
(१) नियन्त्रकले ऐनको दफा २१ को उपदफा (१) बमोजिम प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्दा देहायको कार्यविधि पूरा गर्नु पर्नेछ ः-
(क) नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा त्यसरी इजाजतपत्र रद्द गर्नु पर्नाको कारण खोली सो
सम्बन्धमा प्रमाणीकरण गर्ने निकायलाई सात दिनको म्याद दिई आफु विरुद्ध लागेको आरोपको सम्बन्धमा सफाइ पेश गर्ने मौका
दिनुपर्ने ।
(ख) नियन्त्रकले खण्ड (क) बमोजिमको म्याद भित्र प्रमाणीकरण गर्ने निकायले पेश गरेको सफाइ उपर कुनै थप कागजात वा
विवरण माग गर्नु पर्ने भए सो सम्बन्धमा तीन दिनभित्र त्यस्ता कागजात वा विवरण पेश गर्न प्रमाणीकरण गर्ने निकायलाई आदेश दिन सक्ने ।
(२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम प्रमाणीकरण गर्ने निकायले प्रस्तुत गरेको सफाई मनासिव नदेखिएमा नियन्त्रकले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र रद्द गर्ने आदेश दिनेछ ।
(३) प्रमाणीकरण गर्ने निकाय वा निजका कर्मचारीको जानाजान वा लापरवाहीपूर्ण काम कारबाहीको कारणले वा ऐन, यस नियमावली वा नियन्त्रकले दिएको कुनै आदेशको परिपालन नगरेको कारणबाट कसैलाई पुग्न गएको हानी नोक्सानीको मनासिव क्षतिपूर्ति प्रमाणीकरण गर्ने निकायले व्यहोर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको क्षतिपूर्ति प्रमाणीकरण गर्ने निकायको नियम १२ को उपनियम (२) को खण्ड (घ) बमोजिमको बैंक ग्यारेण्टीबाट कट्टा गरिनेछ ।
(५) उपनियम (४) बमोजिम क्षतिपूर्ति कट्टा गरी बाँकी रहन गएको रकम बराबरको बैंक ग्यारेण्टी इजाजतपत्र रद्द भएको मितिले पन्ध्र दिनभित्र फुकुवा गरिदिनु पर्नेछ ।